अ‍ोलीले देउवालाई प्रधानमन्त्री ‘ह्याण्डओभर’ गर्नुहुन्न, १४ महिनापछि एमाले-माओवादीसहितको सरकार बन्छः डा.अमरेश सिंह


काठमाडौं, ७ जेठ । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण नगर्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अबको १४ महिनापछि एमाले–माओवादीसहितको सरकार बन्ने र कांग्रेस सत्ताबाट बाहिरिने दाबी गरेका हुन् ।

‘केपी ओलीले शेरबहादुरको हातमा प्रधानमन्त्री ह्याण्डओभर गर्दैनन् । यति कुरा लेखेर राख्नुस् । मभन्दा बढी तपाईँ केपी ओलीलाई बुझ्नु्हुन्न । यो मेरो ठोकुवा हो । त्यतिखेर वाम गठबन्धन हुन्छ । त्यो एमालेको पनि बाध्यता हो र माओवादीको पनि । किनभने माओवादीले बुझिसकेको छ– वाम गठबन्धन गर्दा ५३ सिट पायो, कांग्रेससँग गठबन्धन गर्दा ३२ सिट पायो । अब ३२ बाट १६ मा झर्न तयार छैन,’– उनले भने ।

नेता सिंहले कांग्रेस अहिले आफ्नो धरातमा उभिने हैसियतमै नरहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले २०८४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बेचेरमात्रै पार्टीको १५औं महाधिवेशन गराउने उनको टिप्पणी छ । File Photo/RN