निलम ढुङ्गानाले अड्काएर गभर्नर नियुक्तिमा ढिलाइ भएको हो, देउवा-ओलीबीच कुनै समस्या छैनः श्याम घिमिरे (भिडिओसहित)


काठमाडौं, ७ जेठ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुनै पनि समस्या नरहेको बताएका हुन् । पहिला डा.गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएकोमा निलम ढुङ्गानाले उनको राजीनामा स्वीकृत नगर्दिँदा समस्या आएको र नियुक्तिमा ढिलाइ भएको उनले बताए । सभापति देउवा र प्रधानमन्त्री ओली सौहार्दपूर्ण सम्बन्ध रहेको बताए ।

‘गुणाकर भट्टलाई बनाउने कुरामा सबैको सहमति जुटेको हो । गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दिएर अड्काइदिईन् निलम ढुङ्गानाले । प्राविधिक समस्या उत्पन्न भयो । त्यसले गर्दा लामो समय लिएको हो । अरु कुनै कुरा नमिलेर, झगडा परेर, हाम्रो सभापति र प्रधानमन्त्री कुस्ती खेलेर नभएको होईन,’– उनले भने ।

साथै, नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.निलम ढुङ्गानाको सञ्चालन क्षमतामाथि सरकारले विश्वास नगरेको उनले बताए । नवनियुक्त गभर्नर डा.विश्व पौडेल सक्षम व्यक्ति रहेको र उनले राष्ट्र बैंक सञ्चालन गर्न सक्ने कुरामा आफू विश्वस्त रहेको नेता घिमिरेले बताए ।