काठमाडौं, १८ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (आईएसटीयू) को ७औं राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ६१ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ । समितिको सहअध्यक्षहरुमा डा.मोतिराम फुँयाल, देवीदत्त पौडेल र केवशराज पाठक चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षहरुमा (एक जना पछि मनोनित गर्नेगरी) नारायण पौडेल, सरिता निरौला चयन भएका छन् । महासचिवको जिम्मेवारीमा भने भुपाल उप्रेती चयन भएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियनका नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले महाधिवेशनले शिक्षासँग सम्बन्धित विभिन्न १४ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको बताए ।जसअन्तर्गत संस्थागत विद्यालयहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा दर्ता गराई शिक्षक कर्मचारीहरुको योगदान कानूनबमोजिम उनीहरूलाई प्रदान गर्ने योगदान रकम यथाशीघ्र अनिवार्य कट्टा गरिनुपर्ने माग गरिएको उनले बताए ।
त्यस्तै, संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खालका बिदा, सबै खालका अन्य सुविधा अनिवार्य प्रदान गरिनुपर्ने मागसमेत राष्ट्रिय महाधिवेशनबाट पारित भएको छ ।
साविकका शिक्षा ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ बनाउन र ऐन नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउनसमेत माग गरिएको छ ।
संस्थागत विद्यालयका शिक्षकहरूको पेसागत वृत्तिविकासको निम्ति तालिमलगायतको व्यवस्था, निजी लगानीमा खोलिएका विद्यालयहरुको स्थायित्वको निम्ति वास्तविक लगानीको संरक्षण तथा सम्बर्द्धन, विद्यालय स्तरका आयोग, समिति, संरचना, छलफल, सेमिनार, गोष्ठी, शिक्षक तालिम आदिमा युनियनलाई अनिवार्य समावेश गरिनु्पर्ने, निजी लगानीका विद्यालयहरूको प्रभावकारी अनुगमन, नियमन तथा कारवाहीको लागि अधिकार प्राप्त संयन्त्र बनाउनुपर्ने आईएसटीयूको माग रहेको छ ।




प्रतिक्रिया