अयोध्या–जनकपुरधाम रेल सेवाले सीमापार पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ अवसर ल्याउने


काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुने भएको छ। नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ आगामी मंसिर ७ गतेदेखि यो रेल सेवा सुरु गर्न लागिएको हो।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो सेवाले भगवान् राम र माता सीताको जन्मभूमिलाई सीधा रेल सञ्जालमा जोड्दै ‘रामायण सर्किट’को प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यो साप्ताहिक रेल सेवा हप्तामा एकपटक सञ्चालन हुनेछ। निर्धारित तालिका अनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ।

यात्राका क्रममा रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहरहरूलाई जोड्नेछ। टर्मिनल स्टेसनबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रेल रोकिने (स्टप) व्यवस्था मिलाइएको छ।

नयाँ रेल सेवाको सुरुवातसँगै सीमापार आवतजावत गर्ने तीर्थयात्री, पर्यटक तथा सर्वसाधारण यात्रुलाई ठूलो सहजता मिल्नेछ। धार्मिक पर्यटनका साथै अध्ययन, व्यापार र पारिवारिक प्रयोजनका लागि यात्रा गर्नेहरूलाई समेत यसले प्रत्यक्ष लाभ पुर्‍याउने देखिएको छ।

यस रेल सेवाको विस्तारले पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत हस्तकलामा संलग्न कारीगरहरूका लागि आम्दानी र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। रेलमार्ग आसपासको क्षेत्रीय आर्थिक गतिविधि चलायमान भई समग्र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।