काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबै दल, नेता र संसद्को केही पदाधिकारीको घर–घरमा भिजिट भिसा प्रकरणको पैसा पुगेको हुनसक्ने आशंका गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रतिपक्षले अवरोध गर्दैगर्दा जबरजस्त तरिकाले संसद् चलाइनुले यसलाई पुष्टि गर्ने बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा सरकार स्वयं संलग्न भएको आरोप लगाए ।
‘भिजिट भिसा प्रकरणमा नेपाली नागरिकहरु विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्ने कुरा पछिल्ला तथ्य र प्रमाणले देखाएको छ । अहिलेका गृहमन्त्री, यहाँभन्दा अगाडिका गृहमन्त्री, सफ्टवेयर नै बनाएर ठगी गरेका हुन् भन्ने कुराको तथ्य प्रमाण बाहिरिँदै गर्दा पनि अहिले हामी ३४/३५ सांसदहरु अहिले संसद्मा हामीले आवाज उठाउँदै गर्दा सभामुखले अनदेखा गर्दै सभामुख र संसद् विचौलियाको पक्षमा उभिएपछि हामीले संसद् बहिस्कार गर्यौं । बहिस्कार गर्नुको अर्को विकल्प छैन,’– उनले भने ।
नेता शाहीले राप्रपाले आजको बैठक बहिस्कार गरेको बताए । संसद्मा उठेका आवाज सम्बोधन नगर्ने हो भने संसद्मा बस्नुको औचित्य पनि नहुने उनले बताए । संसद् सञ्चालनमा सभामुख देवराज घिमिरे स्वयं नियमावलीको विरुद्धमा चलेको उनको दाबी छ ।
नेपालीलाई नेपालमा रोजगारी पनि नदिने र वैदेशिक रोजगारीमा जान्छु भन्दा पनि मानव तस्करी गर्नेहरुको विरुद्धमा लाग्न उनले सबैलाई आह्वान गरे ।




प्रतिक्रिया