काठमाडौँ, २ जेठः विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको तस्बिर प्रदर्शनीमा सिङ्गो नेपाल झल्किने गरी तस्बिर समेटिएको बताएकी छिन्।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि सभापति पन्तले प्रदर्शनीको माध्यमबाट एकै थलोमा देश चिनाउने पर्वतीय सम्पदा र सभ्यताको नजिकबाट अनुभूति गर्न पाइने विश्वास व्यक्त गरिन् ।
सभापति पन्तले भनिन्, “प्रदर्शनीमा सिङ्गो नेपालको तस्बिर राखिएको रहेछ, विशेषगरी रमणीय हिमाल, सुन्दर पहाड, उपत्यकालाई एकै थलोबाट सहज रुपमा हेर्न र अनुभूति गर्न सकिन्छ । तस्बिर प्रदर्शनी आयोजना गरेर राससले महत्वपूर्ण काम गरेको छ ।”
उनले मुलुकलाई प्रणाली र विधिसम्मत ढङ्गले अगाडि बढाउन सकिए राष्ट्रका अमूल्य निधिको संरक्षण र सचेतना अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गरिन् । सभापति पन्तले जलवायु परिवर्तनका कारण हिमालबाट हिउँ पग्लिन थालेको उल्लेख गर्दैै प्राकृतिक सम्पदाको संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे देशभरका सबै स्थानीय तहसम्म सचेतना फैलाउन र जागरण अभिवृद्धि गर्न जरुरी भएको खाँचो औँल्याइन् ।
उनले राससले गरेका कामलाई बढीभन्दा बढी प्रचार गरेर यस किसिमका रचनात्मक कामलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिइन् ।
सभापति पन्तलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले तस्बिरबारे जानकारी गराउँदै हिमाली सम्पदा र संस्कृतिको संरक्षण प्रवद्र्धनका साथै सरोकारवाला एवं नीतिनिर्माण तहमा ध्यानाकर्षण गराउन प्रदर्शनी उपयोगी हुने बताइन्।
सो अवसरमा समितिका सभापति पन्तले रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्षको पनि अभिरुचिपूर्वक अवलोकन गरेकी थिइन् । गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।




प्रतिक्रिया