चितवन, ८ असार । भरतपुर महानगरपालिकाले वरपीपल रोप्ने अभियान सुरू गर्ने भएको छ । महानगरको १७औंँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले हरियाली प्रवर्द्धनसँगै वरपीपल रोप्ने अभियानलाई प्राथमिकतामा राखिने बताएकी हुन् ।
समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै हरियाली प्रवर्द्धन र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उनले बताइन् ।
वरपीपल रोप्ने अभियान सञ्चालन गरी टोल विकास संस्थामार्फत संरक्षण कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका बिरुवा रोपिनुका साथै बिक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘भरतपुर महानगर स् हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाइ वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्द्धनका कार्यक्रमलाई टोल विकास संस्था समेतलाई परिचालन गरी सरसफाइ र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका बिरुवा निःशुल्क वितरण गरिने जनाइएको छ ।
“एक घर, दुई रुखको नीति’ लाई घर निर्माण सम्पन्न प्रक्रियामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयलाई मागको आधारमा निःशुल्क बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।सङ्घीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आव २०८२र८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताइन्।
‘उज्यालो भरतपुर’ अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगर प्रमुख दाहालले सम्बन्धित निकायको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत्, टेलिफोन, केबुल लाईन र इन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बतायन् । महानगरपालिकाभित्रका खोलानाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरभित्रका नगर गौरवका आयोजनालाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरूप लायन्स चोकमा महानगरीय व्यावसायिक भवन यसै आर्थिक वर्षमा निर्माण सुरू गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साइट निर्माणकार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्रोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । अन्तरराष्ट्रियस्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर तथा पार्कलगायत आयोजना सङ्घीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आर्थिक वर्ष २०८२र८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।
भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्गहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको सङ्ग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राइनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानी पोखरी, जोरकुसुम पार्क, देवीस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गरिने महानगर प्रमुख दाहालले बताइन् ।
पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । राससस




प्रतिक्रिया