शंकर पोखरेललाई एयरपोर्टमा योगेश भट्टराईको न्यानो स्वागत


काठमाडौं, ९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत र कतारको दशदिने भ्रमण सकेर हिजो (आइतबार) देश फर्किएका छन् । पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव योगेशकुमार भट्टराईले स्वागत गरेका थिए । पोखरेलको बेलायत र कतार भ्रमणले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा उकास्न, प्रवासी नेपाली समुदायसँगको सम्बन्ध मजबुत बनाउन र नेपालको विकास तथा समृद्धिका लागि आवश्यक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।

भ्रमणबाट नेपालका सन्दर्भमा सिर्जित भ्रमलाई चिर्न र सत्यतथ्यलाई स्थापित गर्ने सन्दर्भमा एक हदसम्म सफलता प्राप्त भएको अनुभूति भएको उनको प्रतिक्रिया थियो । पोखरेलले भ्रमणलाई सफल र सार्थक बनाउन सहयोग गर्नुहुने प्रवासी नेपाली मञ्चका साथीहरू, दुवै देशका राजदूतहरू र ती मुलुकमा रहेका नेपाली समुदायका अगुवाहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।