काठमाडौं, १० असार । अछाम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले जिल्ला समन्वय समिति र प्रदेश सरकारको कुनै काम नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले दुवै संरचना खारेज गर्दिए हुने बताएका हुन् । उनले प्रदेश सरकार एक हातले लिने र अर्को हातले दिने दोकानजस्तो भएको टिप्पणी गरे ।
‘जिल्ला समन्वय समितिको केही पनि काम छैन । निर्वाचित भएर, हामी दुई चुनाव लडेर आयौं । जनताका इच्छा, आकांक्षा पूरा गर्न सक्छु कि भन्ने हिसाबले यहाँ आइयो । यहाँ आइसकेपछि, यो खाली घरमात्र छ यहाँ । राज्यले न नियम बनाएको छ, न कानून बनाएको छ । संघले प्रदेशलाई कानून बनाइदिने भनेको छ । प्रदेशले आफैं मस्तमा छ । प्रदेशको पनि खास काम छैन । स्थानीय तह पनि आफ्नै मस्तमा छन् । स्थानीय तह, प्रदेश र जिल्ला समन्वय तीन वटैलाई खारेज गर्नुपर्छ भन्नेमा म छु,’– उनले भने ।
जिल्ला समन्वय समिति र प्रदेश सरकारले जनताको लागि केही काम नै नगरेको र जनताको आयआर्जनमा कुनै ध्यान नदिएको उनको आरोप छ । स्थानीय सरकारले समेत जनताको आयआर्जनमा ध्यान दिन नसकेको उनको भनाइ छ । उनले प्रदेश सरकरले जनतालाई कसरी लुट्ने भन्नेतर्फमात्रै ध्यान दिएको बताए ।




प्रतिक्रिया