कांग्रेस–एमालेको सरकार ढल्नुपर्ने कुनै कारण छैन : अरुण सुवेदी (भिडिओसहित)


काठमाडौं, ११ असार । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुनपर्ने बताएका छन् । हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जहाँसम्म म जान्छदु उपेन्द्र यादवजीले सरकारको समर्थन फिर्ता लिएर त प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने मलाई लाग्दैन । किनभने राष्ट्रपतिलाई बुझाएको हस्ताक्षरमा नितान्त कांग्रेस र एमालेको मात्रै छ होला । म गल्ती छैन भने । जबसम्म कांग्रेसले फिर्ता लिँदैन, तबसम्म अरु कसैले चाहे सत्तामा भएका वा मन्त्री भएकाहरुले विश्वासको मत फिर्ता लिएपनि ओलीजीले विश्वासको मत फिर्ता लिनुपर्छजस्तो मलाई लाग्दैन ।’

सुवेदीले अहिलेको कांग्रेस–एमालेको सरकार ढल्नुपर्ने कुनै कारण नरहेको पनि दाबी गरे । तर, सरकार सुध्रिनुपर्ने कारण भने धेरै रहेको उनको भनाई छ । कांग्रेस र एमालेबीच भएको सहमतिबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विश्वास दिलाए ।

उनले भने,‘उहाँले देउवालाई प्रधानमन्त्री नबनाउने के कारण छ ?’ गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको विषयमा पनि उनले आलोचना गरे । उनले अपराध गरेको भए पार्टीले हटाउने थियो भन्ने धारणा राखे । तर, राजीनामा दिने विषयमा व्यक्तिगत विषय भएकोले अरुले इम्पोज गर्ने विषय नभएको उनको भनाई छ ।