काठमाडौं, १२ असार । नेकपा (एमाले) को ५३औं सचिवालय बैठकमा इरान र इजरायलबीच चलेको दुई साता लामो युद्धको विषयमा छलफल गरेको छ । बैठकमा इरान र इजरायलबीच चलेको दुईसाता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको निश्कर्ष निकालिएको छ ।
इरान र इजरायल द्वन्द्वबारे एमालेले भनेको छ,‘यो बैठक युद्धमा सङ्लग्न इरान र इजरायल दुवैलाई युद्धविरामको इमान्दारीपूर्ण पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, युद्धविरामलाई स्थायी रूपमा युद्धको अन्त्यमा रूपान्तरित गर्न आह्वान गर्दछ । शक्ति राष्ट्रहरूलाई यस्ता द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न ध्यानाकर्षण गर्दछ ।’
साथै, बढ्दो तनावले खाडी क्षेत्रमा कार्यरत १२ लाखभन्दा बढी र इजरायलमा कार्यरत पाँचहजारभन्दा बढी नेपाली नागरिकको जीवन र पेसागत सुरक्षामा समेत जोखिम पैदा गरेको एमालेको निष्कर्ष छ । एमाले बैठकले भनेको छ,‘यो बैठक खाडी क्षेत्र र इजरायलमा कार्यरत नेपालीहरूको जीवन र पेसागत सुरक्षाका लागि आवश्यक समन्वय र प्रभावकारी कूटनीतिक पहलकदमी गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।’
यस्तै, भिजिट भिसाको दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसदभित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानविन गर्न सरकारले ‘उच्चस्तरीय अध्ययन एवं छानविन समिति’ बनाउनु सकारात्मक भएको एमालेको निश्कर्ष छ ।
तर, सरकारको यस प्रतिबद्धताका बाबजुद संसदमा केही प्रतिपक्षी दलबाट निरन्तर अवरोध, नाराबाजी र बहिस्कार भइरहनु अनुचित भएको एमालेको टिप्पणी छ । एमालेले बैठकले लिएको निर्णयबारे भनेको छ,‘यो बैठक अनावश्यक हठ, विरोध र असंसदीय व्यवहार प्रदर्शन नगर्न र संसदको मर्यादा एवं गरिमालाई कायम राख्न सम्बन्धित दल र सांसदहरूको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
बैठकले निकालेका निष्कर्ष र गरेका निर्णयहरू यस प्रकार छन्ः
– बैठकले सरकारको एक वर्षे कार्यकालको सङ्क्षिप्त समीक्षा गर्दै सरकार सन्तोषजनक ढङ्गले सञ्चालन भएको र यसले मुलुकको राजनीतिक स्थायित्व, अर्थतन्त्रलाई लयमा फर्काउन र जनभरोसा बृद्धि गर्न सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ । साथै सरकार दुई पार्टीबीचको सम्बन्धलाई सुदृढ र बलियो बनाउन र प्रतिगामी हर्कतहरूलाई निस्तेज गर्न सफल भएको बैठकले ठहर गरेको छ । यसका अतिरिक्त सुशासन र सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने कुरामा बैठकले जोड दिएको छ ।
– बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराईज हलमा गर्ने निर्णय गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गर्न देहायबमोजिम जिम्मेवारी सुम्पेको छ ।
राजनीतिक प्रतिवेदनः अध्यक्ष केपी शर्मा ओली
विधान संशोधन सम्बन्धी प्रस्तावः उपाध्यक्ष विष्णुप्रसाद पौडेल
संगठनात्मक प्रस्तावः महासचिव शंकर पोखरेल
उपर्युक्त प्रस्तावहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुनेछन् ।
– पार्टीको पोलिटब्युरो बैठक २०८२ साउन २ गते र केन्द्रीय कमिटीको बैठक २०८२ साउन ५ गतेका लागि आह्वान गरिएको छ ।
– २०८२ चैत मसान्तसम्मको पार्टी सदस्यता नवीकरणको कार्य सम्पन्न भइसकेको छ । नवीकृत सदस्यताको अभिलेखीकरणको काम यही असार मसान्तभित्र सम्पन्न गरिने भएकाले केन्द्रीय संगठन विभागमा अविलम्ब पठाउन मातहतका कमिटीहरूलाई बैठकले निर्देश गरेको छ ।
– बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा गरेको छ ।




प्रतिक्रिया