काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडको सम्बन्धमा राष्ट्रिय सभाको साथ खोजेका छन् । समितिले टुङ्ग्याएको भन्दा फरक विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि यो सर्वत्र आलोचनाको विषय बनेको छ । ‘कुलिङ अफ पिरियड राख्ने गरी सच्याउन सम्मानित राष्ट्रिय सभालाई अनुरोध गर्दछु,’– उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
संसदमा पेश गर्दाको मूल मर्मलाई भत्काउने गरी विधेयकमा तोडमोड गरिएको उनले उल्लेख गरेका छन् । उनले उक्त विषयलाई गम्भीर त्रुटि र अक्षम्य घटना भनेका छन् । नेता खतिवडाले यस सम्बन्धमा छानविनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकार्षणसमेत गराएका छन् ।
आफूहरुले विधेयकलाई अन्तिम रुप दिँदा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पुरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था राखिएको उनले बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिले लामो समयको छलफल पश्चात् उक्त व्यवस्थालाई सर्वसम्मतिले पारित गरेको उल्लेख गर्दै उनले सोही अनुसार संशोधनका लागि राष्ट्रिय सभाको ध्यानाकार्षण गराएका छन् ।




प्रतिक्रिया