समयमै बजेट ल्याउन नसकेको भन्दै उपप्रमुख डङ्गोलले गरिन क्षमायाचना


काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले समयमा नै महानगरको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको भन्दै क्षमायाचना गरेकी छन् । आज (आइतबार) आयोजित नगरसभामा उनले महानगर बजेट ल्याउन समयसीमा भन्दा केही ढिला भएको बताईन् । उनले विगतका दिनहरुमा केही तीता अनुभवहरु प्रस्तुत भएको बताउँदै उनले अहिले सबै कुराको समाधान भइरहेको बताईन् ।

‘समयमै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्यज्यूहरुको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’– उनले भनिन् ।

उनले अहिले महानगर एक ढिक्का रहेको पनि बताईन् । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख डङ्गोलले महानगरको १७औं नगरसभामा महानगरको बजेट प्रस्तुत गरिन् ।

काठमाडौं महानगरको चालू आर्थिक वर्षको बजेट २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको थियो । ‘अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’– उपप्रमुख डङ्गोलले भनिन् ।