रेक्जोनको अध्यक्षमा पुनः मिश्र


काठमाडौं । धार्मिक सास्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) को पहिलो अधिवेशनले पूर्णपसाद मिश्रलाई अध्यक्ष पदमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा अध्यक्ष रहेका मिश्र शनिवारको अधिवेशनपछि दोहोरिएका हुन् ।

पूर्व राज्यमन्त्री दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समाजसेवी कोमल लामिछाने, सीआईएन रेडियो नेटवर्कका दीपक आचार्य, वास्तुशास्त्री शिवप्रसाद पोखरेल, सूचनाको हकका लागि राष्ट्रिय अभियानका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीलगायतले आआफ्ना धारणा राखेका थिए ।

पत्रकार किशोर ढुंगेलले सञ्चालन गरेको सो कार्यक्रममा समाजसेवी तथा उदारमना कोमल लामिछानेले यसै विधामा समाचार लेख्ने पत्रकारको वृत्ति विकासका लागि रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे । राजधानीको होटल आनन्द पशुपतिमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा निर्वाचन प्रक्रियाका लागि विनोद बस्नेतको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।
राससमा कार्यरत मिश्रको अध्यक्षतामा १३ सदस्यीय समाजको उपाध्यक्षत्रयमा बिनु श्रेष्ठ (द राइजिङ नेपाल), अर्जुन लामिछाने (गौरी मासिक), सीके चौंलागाईं, महासचिवमा किशोरप्रसाद ढुंगेल (अलायन्स खबर), सचिवद्वयमा जयराम सापकोटा र रामचन्द्र दुलाल रहेका छन् । यस्तै कोषाध्यक्षमा मनीषा पोखरेल र सहकोषाध्यक्षमा हरिशरण तिमिल्सिना रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा जया मिश्र, कृष्ण थापा, सुजन प्रेमी सुवेदी र टीकाराम सुवेदी रहेका छन् । समाजका अध्यक्ष मिश्रका अनुसार यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको गैर नाफामूलक संस्था हो । समाजले धर्म, संस्कृति, अध्यात्म, इतिहास, पुरातत्व, साहित्य, भाषा, चलचित्रलगायतका क्षेत्रका बारेमा समाचार संकलन एवं सम्पादन गर्ने पत्रकारका लागि ज्ञान, क्षमता र सीप अभिवृद्धि गरी धार्मिक, सांस्कृतिक पत्रकारको हक–हितमा काम गर्नेछ ।