‘मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्छ’ : ऋषि धमला (भिडिओसहित)


काठमाडौं, ३० असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले घुस डिलमा संलग्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको आजको साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने क्रममा सम्बोधन गर्दै धमलाले यस्तो माग गरेका हुन् ।

उनले भने,‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख घुस प्रकरणमा मुछिँदा कारबाही भएको छैन, पार्टीबाट निकाल्नुपर्दथ्यो, कारबाही हुनुपर्दथ्यो, भ्रष्टहरुलाई संरक्षण गर्न पाईँदैन । हाम्रो देशमा घुसखोरी र भ्रष्टाचारीलाई तुरुन्तै एक्शन हुनुपर्छ । यो मेरो एजेण्डा हो । राजकुमार गुप्ताले ७८ लाख घुस डिल गरेको कुरा बाहिर आईसक्यो, त्यसमा पनि को भन्दाखेरि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले विचौलिया लिएर गएको सबै अडियो बाहिर आईसक्यो, अझैपनि प्रधानमन्त्रीले एक्शन लिनुभएन ? कारबाही गर्नुभएन ? मन्त्रीबाट निकाल्नुभएन ? म त भन्छु प्रधानमन्त्रीले राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्छ । कारबाही गर्नुपर्छ । सुशासनको प्रत्याभूति गर्नुपर्छ । देशको प्रधानमन्त्रीले त्यो हिम्मत गर्नुपर्छ ।’

उनले कांग्रेसका नेताहरुपनि भ्रष्टाचारी रहेको भन्दै कारबाही गर्ने हिम्मत छ भन्दै नेताहरुलाई प्रश्न गरे । उनले देशमा अहिले जताततै अराजकता रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले कांग्रेस–एमाले नेतृत्वको दुई तिहाई बहुमतको शक्तिशाली सरकार हुँदापनि जनतालाई डेलिभरी दिन नसकेकोमा चिन्ता व्यक्त गरे ।