ठूला दलहरुका लागि भ्रष्टाचार संस्कृति नै भइसक्योः चित्रबहादुर केसी


काठमाडौं, ३१ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा भ्रष्टाचार बढ्दै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतदेखि नै सरका भ्रष्टाचारमा डुब्दै आएको र अहिले त्यो सिलसिला झनै बढ्दै गएको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारीलाई कारबाही नगरेको, भ्रष्टाचार गर्ने आफ्ना पार्टीका नेताहरुलाई अनेक तिक्डम गरेर बचाउने गरेको उनले सुनाए । वर्तमान सरकार हरेक क्षेत्रमा बदनाम भएको उनले बताए ।

‘उनीहरुको सिद्धान्त नै हो नि । भ्रष्टाचार गर्नुपर्छ, पैसा जम्मा गर्नुपर्छ, चुनावमा गएर दलालहरुलाई जनता किन्ने ठेक्का दिनुपर्छ । त्यसो भएको हुनाले ठूला–ठूला तस्कर, माफियाहरु, विदेशी तत्त्वहरु, उनीहरुको आशिर्वाद लिनुपर्छ । सहयोग लिनुपर्छ । यो त संस्कृति नै भयो नि नेपालका ठूला पार्टीहरुको त,’– उनले भने ।

ठूला दलका नेताहरुले जनता र राष्ट्रको लागि गर्नुपर्ने राजनीति विशुद्ध आफू र आफ्नो परिवारको लागि गरेको उनको बताए । ठूला दलका नेताहरु आदर्शवान, नैतिकवान र राष्ट्र र जनताप्रति इमानदार नभएको उनको आरोप छ ।