काठमाडौं, ३१ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै संसदीय चुनाव कुन क्षेत्रबाट लड्छिन भन्ने कुरा यतिवेला चासोको विषय बनेको छ । उनी नेकपा (एमाले) को पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा होमिएको धेरै भएको छैन् । तर, राजनीतिमा भण्डारीको पूनरागमनले राष्ट्रिय राजनीति नै तातिएको छ । उनको सक्रियताले एमालेभित्रको समिकरणमा नै फेरबदल ल्याईदिएको चर्चा छ ।
अहिले एमालेमा भण्डारीको पक्षमा नेता तथा कार्यकताहरूसमेत खुल्न थालेका छन् । एमाले नेतृत्व पँक्ति भने यतिवेला आगामी भदौ तेस्रो साताबाट सुरू हुने विद्यान महाधिवेशनमा केन्द्रित भएको छ । विद्यान महाधिवेशनले उमेरहद र दुई कार्यकालको विषयमा महत्वपूर्ण निर्णय लिने भनिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले भने उमेरहदको प्रावधान हटाईने घोषणा गरिसकेका छन् । यही सन्दर्भमा भण्डारीले पनि एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ओली अब अध्यक्षमा नदोहोरिने विश्वास व्यक्त गरेकी छिन् । उनले आफू सक्रिय राजनीतिमा फर्किनुको मुख्य उद्देश्य नै पार्टीको नेतृत्व लिनु भएको स्पष्ट पारिसकेकी छिन् ।
कतिपयले भण्डारीलाई एमालेको अध्यक्ष र भावी प्रधानमन्त्रीको रूपमा समेत चर्चा गर्न थालेका छन् । भण्डारीले आगामी ०८४ को निर्वाचनमा काठमाडौंबाट नै उठ्ने मन बनाएकी छिन् । उनको संसदीय राजनीतिको यात्रा नै काठमाडौंबाट तय भएको इतिहास छ । उनी पति मदन भण्डारीको जीप दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा भाग लिई निर्वाचित भएकी थिईन् । उनले नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिईन् ।
उनी २०५१ र २०५६ सालको मध्यावधि निर्वाचनमा समेत लगातार निर्वाचित भएकी थिईन् । २०६२/०६३ सालको जनआन्दोलनपछि पूनःस्थापित संसद्मा समेत उनी सांसद थिईन् । ०६४ को निर्वाचन भने उनले काठमाडौं–४ बाट लडेकी थिईन् । उनी त्यतिवेला नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएकी थिईन् । भण्डारीलाई घिमिरेले ३५ सय मतान्तरले पराजित गरेकी थिईन् । अहिले सरकारी सेवा तथा सुविधा परित्याग गरी एमालेको सक्रिय राजनीतिमा फर्किएपछि उनी काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको भंगालमा बस्दै आएकी छिन् । सो क्षेत्र काठमाडौं–४ मा पर्छ । अहिले सो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्मा प्रतिनिधित्व गर्छन् । उनी २०७० सालको निर्वाचनदेखि नै लगातार निर्वाचित हुँदै आएका छन् । ०६४ को संविधासभा निर्वाचनमा भने थापा समानुपातिक कोटाबाट सभासद बनेका थिए । अब ०८४ को निर्वाचनमा भण्डारी काठमाडौं–४ बाट प्रतिष्पर्धा गर्ने हो भने उनको प्रतिष्पर्धा गगन थापासँग नै हुनेछ ।
भण्डारी पहिलोपटक वातावरण तथा जनसंख्या मन्त्री बनेकी थिईन् भने पछि गणतन्त्र आएपछि भने माधव नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेकी थिईन् । संविधान जारी भएलगत्तै उनले राष्ट्रपतिको भूमिका निर्वाह गरेकी हुन् । राष्ट्रपतिमा पनि उनले दुई कार्यकाल व्यतित गरिन् । भोजपुरको मानेभञ्याङमा जन्मिएकी भण्डारीले स्कुल तहको अध्ययन भोजपुरमै र उच्च शिक्षा विराटनगरबाट पूरा गरेकी हुन् । अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी उनी एमालेको दुई कार्यकाल उपाध्यक्षसमेत भईन् । उनी छैटौं महाधिवेशनबाट नै एमालेको केन्द्रीय कमिटीमा थिईन् । file photo




प्रतिक्रिया