भण्डारीलाई एमालेको राजनीतिमा आउन सकस


काठमाडौं, २ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषय अहिले राजनीतिक बृत्तमा चर्चाको विषय बनेको छ । पूर्व राष्ट्रपति भण्डारीले गत असार १४ गते पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिक गर्दै राजनीतिमा फर्किएको बताएकी थिईन् । एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता तथा कार्यकर्ताहरु भण्डारी राजनीतिमा आउन नहुने पक्षमा छन् ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीस्थित सनराइज हलमा हुँदैछ । उक्त महाधिवेशनमा भण्डारीलाई सहभागी हुनबाट रोक्ने ओली पक्षीय नेता तथा कार्यकर्ताहरुले प्रयास गरिराखेका छन् । हिजो बसेको एमाले सचिवालय बैठकले पार्टी १०औं महाधिवेशनका प्रतिनिधिलाई मात्रै विधान महाधिवेशनको प्रतिनिधि बनाउने निर्णय गरेको छ । यसो हुँदा भण्डारी विधान महाधिवेशनमा सहभागी हुने सम्भावना नै रहँदैन ।

यता विधानको धारा ६४ को ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने गरी पार्टीको बैठकका प्रस्ताव पेश भएको छ । हिजो बसेको सचिवालय बैठक र आजको पोलिटव्यूरो बैठकमा उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पेश भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
गौतमका अनुसार सचिवालय बैडकमा पनि भण्डारी राजनीतिमा आएको बारेमा ओलीले ब्रिफिङ गरेका थिए । आज बसेको पोलिटिव्यूरो बैठकका पनि सो विषयले प्राथमिकता पाएको छ । देशको सर्वोच्च पद राष्ट्रपति बनिसकेको व्यक्ति राजनीतिमा फर्किने कुरालाई एमाले गम्भीर रुपमा लिएको नेता गौतमले बताए ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँ पार्टीमा सक्रिय हुने भन्ने विषय पनि पार्टीमा प्रवेश पाएको छ । राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय हो । पार्टीले उचित समयमा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ भन्ने अध्यक्षले जानकारी गराउनुभएको छ,’– उनले भने ।

विद्या भण्डारी एमालेको राजनीतिमा फर्किदा केपी शर्मा ओलीले सहज रुपमा स्वीकार नगर्ने प्रष्ट देखिएको छ । अध्यक्ष ओली विधानमा भएको दुई कार्यकाल र उमेर हद हटाएर आफूलाई मार्ग प्रष्ट पार्न लागिरहेका छन् । यस आधारमा एमालेको नेतृत्वको लिनका लागि ओली–भण्डारीबीच तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । यता पार्टी अध्यक्ष ओली समूहबाट हेपिएका, पेलिएका नेताहरुमा भण्डारी सक्रिय राजनीतिमा फर्किएदेखि उत्साह देखिएको छ ।