बूढीगण्डकी बाढीमा २० दिनदेखि फसेको कुकुरको उद्धार


गोरखा । गोरखाको बूढीगण्डकी नदीमा फसेको घरपालुवा कुकुरको २० दिनपछि उद्धार गरिएको छ। गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, जगतमा फसेको कुकुरलाई शुक्रबार उद्धार गरिएको हो।

धादिङको र्‍याफ्टिङ टोलीले एनिमल नेपाल र चुमनुब्री गाउँपालिकासँगको समन्वयमा सिर्दिबासस्थित जगत पुगेर कुकुरको उद्धार गरेको हो। यसअघि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भए पनि खराब मौसमका कारण उडान हुन नसकेपछि र्‍याफ्टिङ टोलीको सहयोग लिइएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

जगतका स्थानीय कमल कार्कीले पालेको उक्त कुकुर असोज २५ गते आएको बाढीका कारण बूढीगण्डकी नदीको बगरमा फसेको थियो। बाढीले कार्कीको घरसँगै पुलसमेत बगाएपछि कुकुर नदीपारि रोकिएको थियो।

स्थानीय गणेश कार्कीका अनुसार बाढी आएको खबर पाएपछि घरधनीहरू पुल तरेर वारि आएका थिए। त्यसको केही समयमै बाढीले घर र पुल दुवै बगाएको थियो। बाढीले उक्त क्षेत्रमा चार घर बगाउनुका साथै केही बाख्रासमेत फसेका थिए। ती बाख्राको पनि उद्धार प्रयास भइरहेको छ।