काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले पार्टीका नेता डा.शेखर काेइराला समूहबाट मन्त्री बनेकाहरुलाई तत्काल फिर्ता बोलाइनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डा. कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेकाहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताएका हुन् । उनले इत्तर समूहबाट मन्त्री बनेकाहरुको पर्फरमेन्स राम्रो नरहेको बताए ।
‘डा.शेखर कोइरालाले कम्तिमा उहाँले सिफारिस गरेर पठाएका मन्त्रीहरुलाई तत्कालै फिर्ता आउ भन्नुपर्ने छ । त्यसपछि उहाँले उहाँलाई समर्थन गर्ने सांसदहरुलाई पनि बोलाएर छलफल गर्नुपर्ने छ । उहाँलाई समर्थन नगर्ने सांसदहरुसँग पनि उहाँले छलफल गर्नुपर्ने छ । यदि त्यस्तो परिस्थिति जन्मियो भने उहाँले आफ्ना सांसदहरुलाई तपाईँहरुले सभापति अथवा संसदीय दलको नेतालाई चरम दवाब सिर्जना गर्नुपर्ने छ भनेर भन्नुपर्ने छ,’– उनले भने ।
साथै, उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री प्रसाद पाण्डे सना–साना काम, जनताले थाहा नपाउने काम गरिरहेको र नियतमा पनि खोट रहेको बताए । ‘ठूला–ठूला विकास परियोजनाहरु उहाँले प्रस्तुत गर्न सक्नुभएन । सरकारलाई, आफ्नो क्याबिनेटको चिफलाई कन्भिन्स गर्न सक्नुभएन । पर्यटनमा आधारित पूर्वाधार खडा गर्ने काम गर्नुभएन,’– उनले भने ।




प्रतिक्रिया