ओली सरकार ढाल्न कांग्रेसले मुभ गरेको भन्ने कुरामा मलाई विश्वास छैन, सरकार तलमाथि हुँदैन : विष्णु रिजाल (भिडिओसहित)


काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली युवा नेता विष्णु रिजालले अहिलेको सरकार ढाल्नको लागि नेपाली कांग्रेसले मुभ गरेको भन्ने कुरामा आफूलाई विश्वास नभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकार ढाल्नको लागि कांग्रेसले मुभ गरेको भन्ने कुरामा मलाई विश्वास छैन् । नेपाललाई राजनीतिक रुपमा अस्थिर बनाउने विभिन्न तत्वहरु यहाँ सक्रिय छन् । ती तत्वहरुको काम विगतमा पनि यस्तै थियो ।’ हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँको कुराकानीमा उनले राजनीतिक अस्थिरता चाहने तत्वहरुको नाम नै नलिने बताए ।

पत्रकार धमलाले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले त यो सरकार ढाल्ने भनेर घोषणा गर्नुभयो नि भनेर राखेको प्रश्नमा रिजालले भने,‘म नाम नै लिन चाहन्नँ । म त्यस्ता कुतत्वहरुको नाम नै लिन चाहन्नँ । अमरेशकुमार सिंहको निगाहले केपी शर्मा ओलीले आउनुभएको होईन । एक सिट भएकोले हटाउने र राख्ने कुनै हैसियत राख्दैन । यो सरकार माओवादीले ढाल्छु भन्यो, रास्वपाले ढाल्छु भन्यो, राप्रपाले ढाल्छु भन्यो भने हामीलाई केही आपत्ति छैन । यो कुरा नागरिकले पनि बुझ्छन् । तर, यो सरकार दुई प्रमुख दलबीच सहमति भएर बनेको छ । दुई पार्टीबीच उच्चस्तरको समझदारी छ । अहिले सरकार तलमाथि हुने कुनै सम्भावना छैन । यो भ्रम र अस्थिरताको खेती नगरे हुन्छ । मनका लड्डु घ्युसँग खाने कुरा बन्द गरे हुन्छ ।’

उनले कांग्रेस–एमाले मिलेर सरकार बनाएर देशमा राजनीतिक स्थिरताको सन्देश प्रवाह गरेको बताएका छन् । सरकारको एक वर्षमा देशमा लगानीको वातावरण बनेको, आर्थिक सूचकांक राम्रो बनेको र व्यवसायिक वातावरण निर्माण भएको रिजालको दाबी छ । ऐन, कानूनमा सुधार गरेर भएपनि डेलिभरी दिने सवालमा सरकारले राम्रो प्रयास गरेको पनि उनको भनाई छ ।