काठमाडौं, ६ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस–एमालेको अहिलेको सत्ता गठबन्धन परिवर्तनको लागि भूमिका खेलेको हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिक उचाईं समाप्त पारेको टिप्पणी गरेका छन् ।
हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘सत्ता परिवर्तन गर्न खोज्ने प्रचण्डको योजना वा डिजाईनमा शेखर कोइराला फसेका हुन यी दुवै व्यक्तिले आफ्नो पोलिटिकल हाइट समाप्त गर्दैछन् । र, प्रचण्डलाई जनार्दनले च्यालेञ्ज गर्नसक्ने ग्राउण्ड निकै बलियो हुन्छ । शेखरजी आउँदो महाधिवेशनमा सभापति बन्ने लाईनमा लागेको मान्छे, काम कुरो एकातिर, कुम्लो बोकी अर्कोतिर बनेजस्तै, शेखरजीलाई घाटा हुन्छ ।’
उनले अहिले कांग्रेस र एमालेको सहकार्य नटुट्ने दाबी गरे । उनले अर्को चार÷पाँच वर्ष दुई दलबीच बौद्धिकखालको सहकार्य हुने पनि ठोकुवा गरे । अतिवादी र पूनर्उत्थानवादी शक्तिलाई तह लगाउनको लागि पनि दुई दल मिलेर जानुपर्ने उनको मत छ । उनले आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा एमालेले सशक्त उम्मेद्वारी प्रस्तुत गर्ने दाबी गरे ।
उनले सो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेमध्ये एकले जित्ने ठोकुवा गरे । उनले आगामी ०८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको शून्य सिट हुने घोषणा गरे । उनले सोविता गौतम, हरि ढकाल, विराजभक्त श्रेष्ठ, स्वर्णिम वाग्लेलगायत अहिले जितेकाहरुले अब चुनाव नजित्ने ठोकुवा गरे ।




प्रतिक्रिया