साफ यु –२० च्याम्पियनसिपमा उपविजेता टोली स्वदेश फिर्ता


काठमाडौं। साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ।

टोलीलाई लिन अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रतियोगितामा भुटान र श्रीलंकलाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४–० ले पराजित भयो।

योसँगै बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्‍यो। बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्‍यायो। नेपालले लिग चरणमा श्रीलंकालाई समान ७ गोलले पराजित गरेको थियो। भुटानलाई ६–१ र ८–० ले पराजित गरेको बंगलादेशसँग नेपाल ३–२ ले पराजित भएको थियो।