काठमाडौं, ८ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता विनोद ढकालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक इतिहास लामो भएको र योगदान भएकोले कसैले सिध्याएर नसिद्दिने दाबी गरेका छन् । ढकालले भने,‘उहाँ (विद्या भण्डारी) कसैले सिध्याएर सिद्दिने पात्र पनि होईन, विद्या भण्डारीको एउटा राजनीतिक इतिहास छ । लगानी छ । योगदान छ । एमालेको इतिहासमा उहाँ ०३७ सालदेखि पार्टीमा संगठित भएर काम गरेको लामो इतिहास छ । त्यसले गर्दा उहाँ कसैले सिध्याएर सिद्दिने मान्छे होईन ।’ उनले विद्या भण्डारीको सामाजिक, राजनीतिक व्यक्तित्व धेरै माथि रहेको दाबी गरे ।
हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँलाई राजनीतिमा आउनको लागि हामीले उचालेको पनि होईन, इनकरेज गरेको पनि होईन । उहाँ आँफै स्वविवेकले सक्रिय राजनीतिमा आउने निर्णय गर्नुभएको थियो । हामीले ठिकै हो भनेका हौं । उहाँ राजनीतिमा आउँदा लोकतन्त्र र गणतन्त्रलाई फाईदा हुन्छ भनेर सहयोग गरेको हो ।’
एमालेमा गुटको सिर्जना कोशी प्रदेशबाट भएको भन्ने कुरा ढकालले अस्विकार गरे । उनले एमालेमा गुटको सिर्जना कोशीले नगरेर केन्द्रले गरेको आरोप लगाए । आफूहरुले पार्टी अधिवेशनमा प्रतिष्पर्धा गरेको भएपनि पार्टी नेतृत्वले नै गुटबन्दी गरेको उनको आरोप छ ।
विद्या भण्डारी र अध्यक्ष केपी शर्मा ओलीसँग दर्जनौं पटक भेटवार्ता भएकोले राजनीतिमा आउने विषयमा कुरै नभएको भनेर ओलीले भन्नु झुटो कुरा भएको ढकालको दाबी छ । उनले भने,‘विद्या भण्डारीसँग सोध्दा उहाँले ओलीसँग पटक पटक कुरा भएको छ भन्नुहुन्छ, अनि केपी अोलीले कुरा भएको छैन भन्नुहुन्छ । एकजनाले त झुटो बोल्नुभयो नि त, मलाई जहाँसम्म लाग्छ विद्या भण्डारी सक्रिय राजनीतिमा आउँछु भनेको मेरो नोटिसमा छैन भनेर अध्यक्षले भन्नु भनेको झुटो कुरा हो ।’




प्रतिक्रिया