चन्द्रपुरको ‘एकीकृत नमूना मुसहर बस्ती’ मा पसे ऋषि धमला : मेयरलाई फिल्डमै बोलाए, गृहमन्त्री लेखकलाई सिधा फोन-कल (भिडिओसहित)


काठमाडौं, १० साउन । मधेश खडेरीको मारमा परेपछि सो क्षेत्र र जनताको समस्या उजागर गर्नको लागि फिल्डमै उत्रिएका पत्रकार ऋषि धमला मधेशका गाउँबस्तीमा जनतासँग अन्तरक्रिया गर्दै हिँडेका छन् । आज उनी रौतहटको चन्द्रपुर पुगेका थिए ।

सो क्रममा उनले धुर्मुस–सुन्तली फाउण्डेशनले ०७४ साल माघमा नै बनाईदिएको चन्द्रपुर नगरपालिकामा पर्ने ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ को अवलोकन गरेका थिए । बस्तीमा रहेका बासिन्दाहरुले धमलालाई घेरेर आफूहरुले भोग्नुपरेको समस्या सुनाएका छन् । उनीहरुले ढल निकास नभएर बस्तीमा फोहोर पानी जमेको र दुर्गन्ध फैलिएको समस्या सुनाए । उनीहरुले स्थानीय सरकारको उपस्थिति पनि नदेखिएको भन्दै आक्रोश पोखेका थिए ।

बस्तीमा रहेका बच्चाहरुले शिक्षा लिन नपाएको उनीहरुको गुनासो थियो । कतिपय बृद्धाहरुले नागरिकतासमेत नपाएको गुनासो धमलासमक्ष पोखेका थिए । धमलाले बस्ती पुरै अवलोकन गर्नुको साथै उनीहरुको एक एक समस्या उजागर गरेका थिए ।

रिपोर्टिङकै क्रममा उनले चन्द्रपुरका मेयर सञ्जयकुमार काफ्लेलाई बोलाएर मुसहर बस्तीका समस्या सम्बोधन गर्न आग्रह गरेका थिए । नागरिकता प्राप्त गर्नकोलागि कुनै कानूनी समस्या नभएका बृद्धलाई नागरिकताको लागि सहजीकरण गरिदिन गृहमन्त्री रमेश लेखकलाई सिधै फोन गराएका थिए ।