ठूलीभेरीमा बेपत्ता तीनजनाकै शव फेला


रुकुम, १२ साउन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक मितिमा सुर्खेतमा फेला परेको हो ।

यति बिल्डर्स प्रा.लि.मा जेसिभि अपरेटर पदमा कार्यरत धनवीरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो । टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका– २ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

गत मंगलबार साझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।