बानियाँले मुख्यमन्त्री तामाङलाई सम्झाए नैतिकता, मार्ग प्रशस्त गर्न सुझाव


काठमाडौं, १४ असार । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिन आग्रह गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा विजयी भएपछि बानियाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री तामाङलाई भनेका हुन् । मुख्यमन्त्री तामाङले राजीनामा दिएर मार्ग प्रशस्त नगरे विधि र प्रक्रियाअनुसार उनलाई विदाइ गरिने नेता बानियाँको भनाइ छ । नेता बानियाँले तामाङ कांग्रेस संसदीय दलको नेता भएकै कारण मुख्यमन्त्री बनेको र आज सो पदमा नरहँदा उनले राजीनामा दिनुपर्ने बताए ।

‘बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीको बीच गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री भएको हो ।अ अहिले उहाँको दलको नेताको हैसियत गुमेको अवस्था छ । त्यही दलको विधानबमोजिम उहाँ भएको हो । त्यसकारण नैतिकता, राजनीतिमा इमानदारिता, लोकतान्त्रिक परम्परा, परिपाटी, जनताको कुरा र साथीहरुको कुरालाई उहाँले मान्नुभएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो । त्यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । उहाँले मार्ग प्रशस्त गर्दिए तुरुन्तै हुन्छ । नत्रभने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले हामी उहाँलाई सहज रुपमा विदाइ गर्छौं,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भएको थियो । कूल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसदहरु छन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँको पक्षमा २२ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री तामाङले भने १४ मत पाए । एक मत बदर भएको थियो ।