पार्टीभित्र आरोप-प्रत्यारोप लगाउने प्रवृत्तिमा लगाम लगाउनुपर्छः माओवादी सचिव खनाल (भिडिओसहित)


काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीच कुनै टकराव नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही समस्याहरु भएमा त्यसलाई बसेर समस्या समाधान गर्न सकिने बताएका हुन् ।

‘त्यो प्रचण्ड र प्रभाकरको टकराव होइन । व्यक्तिगत टकराव केही भए ती सामान्य कुरा हुन् । दुवै जना व्यक्तिहरु बसेर त्यसलाई समाधान गर्न सकिन्छ । यदि प्रवृत्तिगत ढंगले र पार्टीमा रहेका समस्याको हिसाबले कसैले उठान गरेको हो भने त्यो पार्टीभित्र बसेर समाधान गर्न सकिन्छ । यसबारेमा स्थायी समितिमा छलफल हुन्छ,’– उनले भने ।

साथै, उनले पार्टीभित्र भुईँचलो आएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । ‘हाम्रो पार्टीभित्र त्यस्तो भूइँचलो के भएको छ र ? केही छैन । पार्टीभित्र केही भएको छैन । सामान्य कुराहरु त भइनै रहन्छन् । त्यसलाई बाहिर कति लैजाने र नलैजाने, बहसमा कति अगाडि बढाउने भन्नेमा समस्या हो । बाँकी जसरी भूइँचलो भन्नुभयो तपाईँले । त्यस्तो चाहीँ होइन,’– उनले भने ।

साथै, उनले पार्टीका देखिएका केही प्रवृत्तिको निराकरण गर्नुपर्छ भन्ने ढंगबाट उपमहासचिव शर्माको अभिव्यक्ति आइरहेको उनले बताए । उनले पार्टीमा बेलगाम आरोप–प्रत्यारोको श्रृङ्खला भने रोक्नुपर्ने बताए । ‘अहिले कसैप्रति लक्षित गरेर भन्दा पनि ती प्रवृत्तिहरु पार्टीमा छन् । ती प्रवृत्तिहरुको निराकरण के हो भन्ने ढंगले उहाँले बाहिर बोल्नुभएको छ । त्यसलाई पार्टीभित्र छलफल गरेर टुङ्गोमा पुग्ने कुरा त हुन्छ नै । तर, हामीले आरोप–प्रत्यारोपलाई जथाभावी बेलगाम छोड्दिन चाहिँ हुँदैन भन्ने कुरा उठेको छ । तर, बाहिर जुन हल्लाको रुपमा उठेको छ, त्यो होइन,’– उनले भने ।