काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरु अब संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०८४ मा हुने संघ र प्रदेशको निर्वाचनमा नेकपाले आँधीबेरी सिर्जना गर्ने बताएका हुन् ।
‘अब तपाई खुला राजनीतिमा आइसक्नुभयो । चुनाव लड्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो पार्टी लड्छ । स्थानीय चुनाव, संघ र प्रदेशमा पनि हाम्रो पार्टी जान्छ । पार्टीमात्र होइन, हाम्रो एकदम असल साथीहरुसँग, मध्यम वर्गका साथीहरुसँग, बुद्धिजीवी साथीहरुसँग, व्यवसायी साथीहरुसँग छलफल गरेर संयुक्त ढंगले आँधीबेरी निर्माण गर्ने हाम्रो चाहना छ । २०८४ मा हामी चुनावी मोर्चामा सहभागी हुन्छौं ।’
साथै, उनले ०८४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लगायत कम्युनिष्ट घटकहरुसँग गठबन्धन गर्न सकिने र अहिलेदेखि त्यसबारेमा छलफल भइरहेको बताए । मिलेर चुनावमा जान आफूहरु तयार रहेको उनले बताए । विप्लवले भने,‘देशलाई निकास दिनका लागि छलफल चलेको छ, मिलेर जाउँ, त्योमा पनि हामी तयारी छौं । तर यदि त्यसो भएन भने हाम्रो पार्टी एक्लै जनतामा जान पनि तयार छ ।’
साथै, उनले माओवादीसँग तत्कालै एकता भने सम्भव नरहेको ताए । उनले आफूहरुले एक वर्ष अगाडि नै पार्टी एकताको प्रस्ताव पारित गरिए पनि माओवादी केन्द्रको आन्तरिक विषय नटुङ्गिदा अहिलेसम्म एकता नभएको बताए । उनले भने, ‘सहकार्य त अहिले हामीले जारी नै राखेका छौं । तर, एकता तत्काल देखिँदैन । यो छलफल हुँदै जान्छ ।’




प्रतिक्रिया