काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले एक महिनाका अवधिमा रवि लामिछानेको पक्षमा साढे २७ लाखभन्दा बढी जनताले हस्ताक्षर गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले साउन ७ गतेसम्म एक महिनाको अवधिमा साढे २७ लाखभन्दा धेरैले हस्ताक्षर गरेको उनले बताए । उनले हस्ताक्षर अभियान आफूहरुले कुनै नयाँ काम नगरेर पूरानै शैली रहेको बताए । आफूहरु अदालतको विपरीत नगएको र अदालतको सम्मान नै गरिएको उनले बताए ।
‘एक महिनाको अवधिमा, साउनको ७ गतेसम्ममा साढे २७ लाखभन्दा बढी जनताहरुले हस्ताक्षर गरिसक्नुभएको थियो । हामीले के भनिरहेका छौं भने यो हस्ताक्षर अभियानलाई नयाँ कुनै कार्य गरिरहेको छ भन्ने कुरा नबुझिदिनुस् यो पूरानै हो, तर गर्ने तरिका फरक हो । जसरी २०३७ सालमा शासन प्रणालीको विरुद्धमा जनमत संग्रह भएको थियो । त्यतिखेर पनि जनताको अभिमत बुझ्दै निर्वाचन गर्ने प्रक्रिया भएको थियो । त्यस्तै, अहिले हाम्रो हस्ताक्षर अभियान भनेको अभिमत र धारणा बुझ्ने अभियान हो,’– उनले भने ।
संसदीय छानविन समितिको प्रतिवेदनमा सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन भन्ने कुरा स्पष्ट लेखिएको उनले बताए । लामिछानेमाथि प्रतिशोध राखेर मुद्दा चलाइएको र कारागार पठाइएको उनले बताए । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले अहिले शक्तिको प्रदर्शन गरिरहेको उनको भनाइ छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो शक्ति हो । देशको चौथो ठूलो शक्तिको सभापतिलाई राजनीतिक प्रतिशोध साँध्नेगरी कारागार पठाइएको छ । शासन चलाउनु भनेको शक्तिको प्रदर्शन गर्नु होइन । जिम्मेवारीको बहन गर्नु हो । यहाँ सरकारमा भएका दलहरु जो दुईवटा दलहरुले सरकार चलाइरहेका छन् । उहाँहरुले शक्ति प्रदर्शन गरेर रवि लामिछानेलाई पूर्वाग्रह राखेर, प्रतिशोध साँधेर कारागार पठाउने काम भएको छ,’– उनले भने ।
साथै, उनले पार्टी सभापति रवि लामिछानेको अपेक्षाअनुसार हस्ताक्षर अभियानलाई निरन्तर राखिने बताए । हस्ताक्षर अभियान सबै नेपालीको हात हातमा पुगेस् र एउटा व्यक्तिमाथि राज्यले कति प्रतिशोध साधेको छ भन्ने सबै जनताले बुझुन् भन्ने लामिछानेको चाहना रहेको पनि उनले बताए ।
‘हामीले हिजोमात्रै भैरहवामा संसदीय दलको बैठक बसेका छौं । पार्टी सभापतिको अपेक्षा चाहिँ यो हस्ताक्षर अभियान सबै नेपालीहरुको हात–हातमा पुगोस् । उहाँहरुले बुझुन् कि राज्यले एउटा व्यक्तिमाथि कति प्रतिशोध साँधेको छ भन्ने कुरा सबै जनताले बुझुन् भन्ने अपेक्षाअनुसार हामी यो हस्ताक्षर अभियानलाई निरन्तर राख्ने प्रक्रियामा अगाडि बढेका छौं,’– उनले भने ।




प्रतिक्रिया