कान्छाराम कन्स्ट्रक्सनसहित २२ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो


काठमाडौं, २३ साउन । कान्छाराम कन्स्ट्रक्सन प्रा.लि.सहित सम्झौताअनुसार काम नगर्ने २२ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम (४क) अनुसार स्पष्टीकरण सोधेको हो । सरकारी निकायहरूको सिफारिसमा यी कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो ।

सडक डिभिजन कार्यालय, नुवाकोटले गरिबी उद्धार, ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, गौरीमाई निर्माण सेवा, लेबेन निर्माण सेवा, मनकामना कन्स्ट्रक्सन प्रा.लि., शिलाकन्यादेवी कन्स्ट्रक्सन प्रा.लि., लाङलाङ÷मानेज्यार्सा जे.भिलाई कालोसूचीमा राख्नका लागि लेखिपठाएको छ ।

त्यस्तै, सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग, ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल, पुल्चोक ललितपुरले कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको छ । कान्छाराम कन्स्ट्रक्सन नेपाली कांग्रेस रामेछापका जिल्ला सभापतिसमेत रहेका पूर्व ऊर्जा, जलस्रोत तथा सिचाइँराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को स्वामित्वमा रहेको कम्पनी हो ।