केपी ओली मदन भण्डारीको बाटोमा छैनन्, वामदेवको समाजवाद भन्सारबाट गाडी छिराउनु हो : आर.के. मैनाली (भिडिओसहित)


काठमाडौं, २८ साउन । पूराना वामपन्थी नेता राधाकृष्ण मैनाली (आर.के.) ले देशका पार्टीहरु विदेशी दलालहरुले क्याप्चर गरेकोले आफू स्वतन्त्र भएर बसेको बताएका छन् । दलालहरुको घेरामा उभिनुभन्दा बरु घरमै बस्छु भनेर अहिले कुनैपनि दलमा आवद्ध नभएको र राजावादी कित्तामा पनि नउभिएको मैनालीले स्पष्ट पारे ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गणतन्त्र आएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेट नभएको स्पष्ट पारे । उनले आफू पूरानो मान्छे भएपनि सोच नवीन रहेको बताए । तर, पूर्वराजा ज्ञानेन्द्रले पूरानै सोचका मान्छे खोजेको भन्दै उनले चित्त दुःखाए ।

अहिलेका दलहरुका पूराना र शीर्ष नेताहरुले पार्टी नेतृत्व छोड्नुपर्ने उनको सुझाव छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओली मदन भण्डारीको बाटोमा नरहेको आरोप लगाए । उनले विद्यादेवी भण्डारीलाई किनारा लगाउने काम गरे एमालेको हालत कमजोर हुने टिप्पणी गरे । उनले वामदेव गौतमले आफू प्रधानमन्त्री भएपछि देशमा समाजवाद ल्याउँछु भनेकोप्रति व्यंग्य गर्दै वामदेवको समाजवाद भनेको भन्सारबाट गाडी छिराउनुमात्रै रहेको बताए ।