गण्डकी प्रदेशसभाको भवन शिलान्यास


गण्डकी, ३ भदौ । गण्डकी प्रदेशसभा भवनको आज शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित हाल रहेको अस्थायी कार्यालय भवन परिसरकै पश्चिमतर्फ निर्माण गर्न लागिएको उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे।

निर्माणाधीन तीन तलाको भवन कूल रु २५ करोड ३७ लाख ८२ हजार ८६१ लागतमा बन्ने छ । सहरी विकास तथा भवन कार्यालय कास्कीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदनअनुसार भवन निर्माण गरिने गण्डकी प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए। श्रेष्ठ एन्ड सन्सरइस्ट वेस्ट जेभी काठमाडौँले उक्त भवनको जिम्मा पाएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीका अनुसार प्रदेश गौरवको आयोजनाका रूपमा भवनको निर्माण हुन लागेको हो ।

गण्डकी प्रदेशसभाका कामलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि निर्माणाधीन भवन महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे । विसं २०८१ माघ २० गते भवन निर्माणको सम्झौता गरिएको थियो । सम्झौताअनुसार ३६ महिनाभित्रमा भवन निर्माणको कार्य सम्पन्न गर्नुपर्ने भए पनि उक्त समयावधिभन्दा अघि नै भवन निर्माण सम्पन्न हुने बताउँदै मन्त्री केसीले निर्माण कार्यलाई गुणस्तरीय बनाउन निर्देशन दिइसकेको बताए ।

सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुङ्गानाका अनुसार भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरू सकिएका छन् । विस्तृत आयोजना प्रतिवेदनअनुसार भवनको लागत रु ४४ करोड ९९ लाख ६० हजार ३७६ रहेको भए पनि टेन्डर प्रक्रियामा प्रतिस्पर्धा हुँदा ३२ दशमलव ४१ प्रतिशत घटेर श्रेष्ठ एन्ड सन्सले निर्माणको जिम्मा पाएको हो । रासस