प्रचण्डले खोजे लोडसेडिङ अन्त्यको श्रेय


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्यः रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उनले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको बताए ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए । ‘हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,’– उनले भने ।

कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गराए । ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताए । ‘यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,’– उनले भने ।

अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे । ‘जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,’– उनले भने ।

देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्‍याउने मुख्य कारण पुराना झण्झटिला कानुन र नियम अझै परम्परावादी हुनु र नोकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय सेटिङ बनाउनैपर्छ,’– उनले भने ।

अध्यक्ष प्रचण्डले स्वर्गीय पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे । ‘बोगटीजस्तो इमान्दार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनैपर्छ,’– उनले भने ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मुल्याङ्कन गर्ने दृष्टिम कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए । ‘यदि राजनीतिक नेतृत्वको भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,’– उनले भने ।

अध्यक्ष प्रचण्डले भारत र बंगलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए । ‘लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो,’– उनले भने ।