एमाले फुटाएर गल्ती गरेका छैनौं, ०८४ को निर्वाचनमा मधेशमा पहिलो शक्ति हुन्छौं : माधव नेपाल


काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ०८४ को निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरेका छन् । उनले एकीकृत समाजावदी कुनै शक्तिसँगपनि विलिन नहुने दाबी गरे । पार्टीनिकट प्रेस संगठन समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा पार्टीको बलियो उपस्थिति रहेको भन्दै सबैले मेहनत गरे नतिजापनि राम्रो आउने दाबी गरेका हुन् । अध्यक्ष नेपालले भने,‘अब २०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेको जिल्लामा अरू पार्टीलाई एक्लै पराजित परेका पनि छन्। कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हटाउन सक्छौँ भन्दैछौं। सुदूरपश्चिममा पनि त्यस्तै छ। हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, मधेश प्रदेशले पनि त्यही भन्दैछ।’

सो क्रममा उनले एमालेबाट विद्रोह गरेर आफूले औचित्य पुष्टि गरिसकेको पनि दाबी गरे । संविधान जोगाउनेदेखि निरंकुशतालाई पराजित गरेको भन्दै उनले एमाले फुटाएर कुनै गल्ती नगरेको दाबी गरे ।