‘भारत, चीन र नेपालबीच त्रिपक्षीय वार्ताको मिति तोकेर आउन सकियो भने प्रधानमन्त्री ओलीको चीन भ्रमणको उपलब्धि हुन्छ’
काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले भारत र चीनबीच नेपाली भूमि कालापानीमा नेपाललाई थाहा नदिईकन व्यापारिक पास बनाउनेबारे भएको सहमतिलाई नेपालविरुद्धको अपराधको संज्ञा दिएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पोखरेलले भारत र चीनबीच पछिल्लो समय भएको उक्त सहमतिलाई नेपालको अखण्डतामाथिको हस्तक्षेप भनेका छन् । उनले भने,‘भारत र चीनले लिपुलेक पास हुँदै व्यापारिक नाका पूनः खोल्ने भनेर जुन सहमति गरेका छन, यो सिंगो रूपमा नेपालको सार्वभौमिकता र अखण्डतामाथिको हस्तक्षेप हो । यो साँच्चै भन्ने हो मैले चीन र भारतले गरेको अपराधको रूपमा बुझेको छु । यो सहमतिले नेपालको सर्वाभौमिकतामा हस्तक्षेप गरेको छ । त्रिपक्षीय वार्ताको आधारमा सहमति गरिनुपर्छ । भारत र चीन दुवै छिमेकप्रति हाम्रो उत्तिकै सम्मान छ ।’
पोखरेलले नेपालको भारततर्फ धेरै समस्या रहेको दाबी गरे । उनले भने,‘भारतसँग भूमि, सिमा, जलस्रोत, पानीको समस्या छ । थुप्रै खालको समस्या छन् । ती समस्याबाट हामी प्रताडित छौं । हामी ती समस्याबाट मुक्ति चाहन्छौं । भारतजस्तो राष्ट्रले हाम्रो सुगौली सन्धिले प्रमाणित गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा कुनैपनि बहाना नबनाईकन उसले छोडिदिनुपर्छ । आफ्नो सिमाना फिर्ता गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु ।’
उनले चीनसँग नेपालको असाध्यै घनिष्ठ सम्बन्ध रहेको चर्चा गरे । तर, पछिल्लो समय चीनले नेपालले इतिहासदेखि नै लगाउँदै आएको गुणलाई बिर्सिएको हो कि भन्ने पोखरेलको चिन्ता छ । उनले भने,‘चीन र नेपालको सम्बन्ध धार्मिक, सांस्कृतिक, आर्थिक रुपमा बलियो छ । बहादुर छिमेकी हौं । चीनको सार्वभौमिकताका पक्षमा नेपाल लडेको छ । नेपालले चीनलाई ठूलो गुण लगाएको छ । हामीले आफ्नो धर्म निर्वाह गरेका छौं । एक चीन नीतिमा अडिएका छौं । कसैको विरुद्ध हाम्रो भूमि प्रयोग हुन दिएका छैनौं । चीनले पनि कर्तव्य पूरा गर्नुपर्ने दायित्व छ । यो दायित्वबाट चीन भाग्छ कि भन्ने चिन्ता नेपाली जनता र सरकारलाई भएको छ ।’
उनले चीनसँग सन् १९५५ देखि कुटनीतिक सम्बन्ध स्थापित भएदेखि आजसम्म त्यति ठूलो समस्या नरहेको दाबी गरे । उनले भने,‘चीनसँग हाम्रो ठूलो समस्या छैन, सामान्य छ । हुम्ला, दोलखामा केही जग्गा विवाद छ । चीनसँग त हाम्रो समस्यारहित सम्बन्ध हो ।’
पोखरेलले भारत र चीनबीच लिपुलेक पास हुँदै व्यापारिक नाका खोल्ने सहमति अहिले नयाँ सहमति नभएर सन् १९५४ मा पनि ६ वटा पास खोल्ने सहमति भएको स्मरण गराए । उनले भने,‘उनीहरुबीच सन् १९५४ मा लिपुलेक पास खोल्ने सहमति हुँदा नेपालमा राजाको शासन थियो । सन् २०१५ मा जब चीन र भारतबीच सम्बन्ध सुधार हुन्छ, फेरि पनि लिपुलेक पासबारे सहमति भएको थियो । अहिले फेरि भारत र चीनबीच सम्बन्ध सुदृढीकरण भएको बेलामा यो नाका खोल्ने सहमति भएको छ ।’ विश्व राजनीतिक घट्नाक्रमको कारण भारत र चीनबीच अहिले सम्बन्ध सुधार भएका दृष्टान्त सुनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट सुरू भएको चीन भ्रमण उपलब्धिमूलक हुने विश्वास दिलाए । यद्धपी यो भ्रमणले नेपाल–चीन द्विपक्षीय विकासबारे केही नहुने उनको भनाई छ । उनले भने,‘यो भ्रमणले द्विपक्षीय विकाससम्बन्धी केही दिन्छजस्तो लाग्दैन । अहिले हामी यो एससिओ फोरममा डायलग पार्टनर, अब्र्जबर छौं । भोलि मेम्बरसिपमा बाँधिनसक्ने अवसर प्रदान गर्नेछ । यो अवसरलाई प्रधानमन्त्रीले उपयोग गर्नुभएको छ । अहिले दुवै मुलुक भारत र चीन सँगै उभिँदैछन् ।’
चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँगपनि भेट्ने कार्यक्रम भएकोले अहिले भारत र चीनले गरेको सहमतिको विवषयमा पनि जोडदार रुपमा कुरा उठाउन पोखरेलको सुझाव छ । उनले भने,‘नेपालका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै हुनुहुन्छ । उहाँले यो मुद्दा गम्भीरतापूर्वक उठाउनुपर्छ । त्रिपक्षीय वार्ताको मिति तोकेर आउन सकियो भने यो भ्रमणको उपलब्धि हुन्छ, यसमा प्रधानमन्त्रीज्यूलाई सफलता मिलोस भन्ने शुभकामना दिन चाहन्छु ।’
सो क्रममा उनले फासीवाद विरूद्धको विश्व युद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको ‘प्रतिरोधी युद्ध’ विजयको वार्षिकोत्सव अवसरमा चीनले आयोजना गर्ने सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुने विषय कुनैपनि हिसाबले गलत नहुने दाबी गरे । पोखरेलले भने,‘हिजो ८० वर्षअघिको जापान र आजको जापान फरक हो । ८० वर्षअघिको जापान साम्राज्यवादी थियो, आक्रामण गरेर विश्वभरि प्रभाव जमाउँथ्यो, पूर्वी एशिया चीनलगायत यसकै श्रृंखलाभित्र थियो । चिनियाँ जनताले लडेर विजय प्राप्त गरेको दिनको रुपमा परेड राखेको हो । यो परेडमा विगतदेखि नै जापानका पूर्व प्रधानमन्त्रीले पनि भाग लिएका छन् । अहिलेपनि भाग लिँदैछन् भन्ने कुरा आएको छ । यो त सोलिडारिटी व्यक्त गर्न जानु जापानको विरोधमा होईन। अहिलेको जापान नेपालको असल मित्र छ । अभिन्न मित्र हो । सबै राष्ट्रसँग् राम्रो सम्बन्ध छ । चीनको पनि जापानसँग कुटनीतिक सम्बन्ध छ । कुनीतिक, राजनीतिक, आर्थिक वा भू–राजनीतिक डंगले गलत हुँदैन ।’
उनले प्रधानमन्त्री ओली खुट्टा कमाउने मान्छे नभएको चित्रण गरे । उनले थपे,‘उहाँ कहिल्यैपनि खुट्टा कमाउनुहुन्न । हरेक इस्युमा भारतसाग खतरा मोलेर चाहे त्यो नाकाबन्दीको समयमा होस, वा चीनसँग पारवाहन सन्धि गर्दा, वा चुच्चे नक्शा प्रकाशन गर्दा, वा अहिले बीअरआई फ्रेमवर्क सम्झौता गर्दा होस, उहाँले अत्यन्तै ठूलो राजनीतिक जोखिम मोल्नेसक्ने नेताको छवि बनाउनुभएको छ।’ अहिले भारतले रुचाएको छैन भन्दापनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा बोलाउने परिस्थिति बनेको उल्लेख गर्दै अहिले चीन भ्रमणमा रहाँ प्रधानमन्त्री ओलीले चीनसँग खुट्टा नकमाउने पोखरेलको दाबी छ ।
आँखामा आँखा जुधाएर मोदी र नि सँग कुरा गर्नुहुन्छ । शीर ठाडो बनाएर ,यो कुराकानीले सार्थकर्ता लिनेछ । यो अवसरले नेपालको विकास, कनेक्टिभिटी, स१चार सबै क्षेत्रमा प्रयोग गर्नुपर्छ । नेपाललाई सार्मथ्यवान बनउानुपर्छ ।




प्रतिक्रिया