काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन गएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली हिजो (शनिबार) चीन पुगेका हुन् । चीन ओर्लिएकै दिन प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।
सो भेटमा प्रधानमन्त्री ओलीले हालै भारत र चीनबीच लिपुलेक पास हुँदै गरेको व्यापारिक नाका सुचारु गर्नेबारेको सहमतिलाई लिएर आपत्ति जनाएको कुरा बाहिर आएको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा पनि सो कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले चीनमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने भनिएको छ । तर, भेटवार्ता तय भइनसकेको बुझिएको छ ।
सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि विश्वका विभिन्न देशका नेताहरुपनि चीन ओर्लिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनपनि चीन आईसकेका छन् । भारतीय प्रधानमन्त्री मोदीपनि हिजो नै चीन झरेका हुन् । मोदी र सिबीच आज भेटवार्ता भएको छ । चीन ओर्लिएका सबै देशका नेताले आफ्नो राष्ट्रिय विमान लिएर ओर्लिएका छन् ।
तर, नेपालका प्रधानमन्त्री ओली भने निजी विमान हिमालय एयरलाईन्समार्फत चीन पुगेका छन् । नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका जहाज हुँदाहुँदैपनि प्रधानमन्त्री ओलीले निजी विमान चाटर्ड गरेर चीन पुगेको विषय अहिले आलोचना बनिरहेको छ । प्रायः प्रधानमन्त्री ओलीले यसअघिपनि चीन भ्रमण गर्दा हिमालय एयरलायन्स नै चाटर्ड गरेर लगेका थिए ।
नेपाल वायु सेवा निगमलाई उपेक्षा गरिएको विषय अहिले सञ्जालमा आलोचना बनिरहेको छ। रोचक त के भने प्रधानमन्त्री ओलीको यो चीन भ्रमणमा पर्यटनमन्त्री बद्रि पाण्डेपनि सहभागी छन् । उनले चीन भ्रमणको लागि नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम लैजानको लागि कुनै भूमिका खेल्न सकेनन् । उनी निजी विमान चाटर्ड गरेर चीन पुग्नु लज्जाको विषय बनेको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।




प्रतिक्रिया