फाइभजी नेटवर्कको व्यवस्थापन गर्न नेपाल टेलिकमलाई मन्त्री गुरुङको निर्देशन


काठमाडौं, १६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताएका छन् । त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उनले निर्देशन दिएका छन् ।

ललितपुरमा आज नेपाल टेलिकम (एनटिसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वकको पहुँच विस्तार गर्न आग्रह गरे । उनले सरकारको डिजिटल फेर्मवर्क (डिएनएफ) को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमको ध्यानार्कषण गराए । ‘साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी भने निकै पछि परेका छौँ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।’

मन्त्री गुरुङले नेपाल टेलिकम जनताको अतिआवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्यसम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिए । चालु आर्थिक वर्षमा कार्ययोजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि उनले आग्रह गरे । File Photo/RN