परराष्ट्रमन्त्री राणाबाहेक अरु कसैले पनि काम गर्न सकेनन्ः कांग्रेस नेता खतिवडा (भिडिओसहित)


काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले कांग्रेस–एमाले गठबन्धन सरकारले जनतामा आशाको किरण छर्न नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले गठबन्धनको स्पिरिटमा काम गर्न नसकेको बताएका हुन् । तरपनि, गठबन्धन भने यही निरन्तर कायमै रहने उनले बताए । ‘गठबन्धन भइसकेपछि पनि हामीले जुन स्पिरिटमा काम गर्नुपर्ने हो, त्यो स्पिरिटमा जान सकेका छैनौं । सरकारले जनतामा जुन रुपमा आशाका किरणहरु छर्नुपर्ने हो, त्यो गर्न सकेको छैन,’– उनले भने ।

साथै, नेता खतिवडाले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबाहेक सबै मन्त्रीहरुले काम गर्न नसकेको बताए । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नै क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न नसकेको र विरुद्धमा बोल्नेलाई समातेर थुन्ने काम गरेको उनले बताए । ‘परराष्ट्रका कुराहरु अहिले सबै सकारात्मक रुपमै आएका छन् । अन्य मन्त्रीहरुले त्यसरी सकारात्मक रुपमा कसैले पनि केही दिन सकेका छैनन् । आज जहाँ खानेपानी मन्त्री हुनुहुन्छ, त्यही जिल्लामा सबैभन्दा धेरै कहिले खानेपानीको समस्या छ, कहिले हैजाको समस्या छ । मन्त्रीको बारेमा बोल्यो भने समातेर भित्र थुन्न थाल्छन् मान्छेहरुलाई । अरु पनि मन्त्रीहरुले जुन रुपमा काम गर्नुपर्ने हो काम गर्न सकेजस्तो भएको छैन,’– उनले भने ।

नेता खतिवडाले प्रयास सबैले गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको इन्टेन्सन पनि काम गरौं भन्ने नै रहेपनि मन्त्रिमण्डलमा काम गराउन नसकेको हो कि भन्ने देखिएको बताए । एमालेभित्रकै केही मन्त्रीहरु विवादमा रहेको र कांग्रेसका मन्त्रीहरुले पनि काम गर्न नसकेको उनले बताए ।