काठमाडौं, १९ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले फोनमार्फत धम्की दिने महिलामाथि आफूले कुनै पूर्वाग्रह नराखेको बताएका छन् । फोनमार्फत धम्की दिने महिलालाई सच्चिन र लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा आफ्नो सहयोग रहने पनि उनले बताएका छन् । खानेपानी मन्त्री यादवलाई धम्की दिएको आरोपमा वीरगन्जकी किरण साह पक्राउ परेकी थिईन् । मन्त्री यादवको सचिवालयले गरेको उजुरीको आधारमाउनलाई पक्राउ गरिएको थियो ।
मन्त्री यादवले फोनमार्फत धम्की दिने महिलालाई प्रहरीले थुनेको विषयमा आफूलाई नजोड्न आग्रह गरेका छन् । ‘फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालयमार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।आशा छ आजको दिन फोनकर्ता महिलाको लागि फलदायी होला । समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला,’– उनले भनेका छन् ।
ती महिलाले ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले आफूले त्यो नम्बरसहितको सूचना पर्सा प्रहरीलाई दिएको मन्त्री यादवले प्रष्ट पारेका छन् । जनप्रतिनिधिमाथि रिस पोख्नुलाई आफूले सामान्य रूपमा लिएको पनि उनले बताएका छन् । अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य ती फोनकर्ता महिलाबाट भएको उनको दाबी छ ।




प्रतिक्रिया