नेपाल प्रहरीका ३२औं आईजीपी खापुङले पाए दर्ज्यानी चिन्ह


काठमाडौं, १९ भदौ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन् । आज (बिहीबार) गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो । निवर्तमान आईजीपी दीपक थापाले हिजोदेखि अवकाश पाएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी बनेका हुन् । खापुङ करिब ३ महिनामात्रै आईजीपी बन्ने छन् । ३० वर्षे सेवा हदको कारण उनी आगामी मंसिर २३ गतेबाट अवकाश जाँदैछन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै नवनियुक्त आईजीपी खापुङलेआफ्नो कार्यकालमा सकेको राम्रो गर्ने प्रतिवद्धता व्यक्त गरे । सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उनले बताए । उनले अपराध अनुसन्धानमा गहन चुनौती रहेको पनि बताए । ‘एआई, साइबर, क्रिप्टोलगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्ने उनको भनाइ छ ।