निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुरा संविधानको मर्मविपरीत हो, बाहिरबाट किनेर ल्याएको कुरा छात्रबृत्तिमा दिन सकिँदैनः धवलशमशेर जबरा


काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर जबराले ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स (जीएसआई) बारेमा संसद्मा आएर प्रष्ट पारिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स (जीएसआई) लाई समर्थन गरेको उल्लेख छ । जीएसआई चिनियाँ सैन्य परियोजना हो । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता जबराले नेपालले जीएसआईलाई समर्थन गरेको हो भने त्यो भविष्यमा घातक हुनसक्ने बताए ।

‘प्रधानमन्त्रीज्यू चाइना भ्रमणमा जाँदाखेरी चाइनिज मिडियामा के कुरा आयो भने नेपालले ग्लोबल सेक्युरिटिज इनिसिएटिभ्स (जीएसआई) मा सहमति जनाएको छ भन्ने कुरा आयो । यो असङ्लग्न नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपाललाई आउने दिनमा घातक हुनसक्ने स्थिति छ । यो कुरालाई प्रधानमन्त्रीज्यूले सदनमा आएर प्रष्ट भन्नुपर्यो । हाम्रो परराष्ट्र नीतिबाट हामी अलग जान लाग्यौं, फरक कुरा राख्न लाग्यौं भने सदनले जानकारी पाउनुपर्छ,’– उनले भने ।

साथै, उनले फरक प्रसंगमा निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने भन्ने कुरा संविधानको मर्मविपरीत रहेको बताए । निजी विद्यालयमा ठूलो लगानी रहेको बताउँदै उनले उक्त क्षेत्रलाई निरुत्साहित गर्ने भन्दा पनि प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने बताए । निजी विद्यालयले विद्यार्थी र नेपालीहरुलाई ठूलो योगदान गरिरहेको स्मरण गराउँदै उनले बाहिरबाट किनेर ल्याउने कुरा छात्रबृत्तिको रुपमा दिन नसकिने बताए ।

‘निजी विद्यालयहरुले ठूलो योगदान नेपालका विद्यार्थीहरुलाई र नेपालीहरुलाई गरिरहेको छ । कर उठिरहेको छ, गुणस्तरीय शिक्षा पाइरहेका छन् । छात्रबृत्ति दिने कुराहरुमा कुनै समस्या छैन । पहिला पनि १० प्रतिशत छात्रबृत्ति दिने भनेकै हो । स्कूलले शुल्क छुट दिने कुरामा कुनै समस्या छैन । तर, बाहिरबाट किनेर ल्याउने कुराहरु स्कुलले सक्दैन भन्ने कुरा जानकारी गराउन चाहन्छु,’– उनले भने ।

साथै, उनले उखु किसानहरुको अनुदान यथावत राख्नसमेत माग गरे । उनले भने, ‘अहिले उखु किसानहरुले चलाएको आन्दोलन छ, उहाँहरुको अनुदान घटाइएको छ । त्यो अनुदानलाई यथावत राखियोस् भन्ने मेरो माग छ । मलखाद किसानहरुलाई सुलभ मूल्यमा र समयमा पाउन् ।’ File Photo/RN