काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विभाजन नगर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलाले अहिले आएर विद्या भण्डारीले एमाले विभाजन गर्नुभयो भने के हुन्छ ? भनेर प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि सोधेको प्रश्नमा महासचिव पोखरेलले यस्तो जवाफ दिएका हुन् ।
उनले भने,‘उहाँले पार्टी विभाजन गर्ने कुनै सम्भावना छैन । उहाँबाट त्यो खालको काम हुँदा हुँदैन । उहाँले अन्तिममा पार्टी निर्णयलाई स्विकार गर्नुहुन्छ । र, राष्ट्रको साझा अभिभावकको भूमिकामा फर्कनुहुन्छ ।’ उनले विद्या भण्डारीले राजनीतिक रुपमा सचेत व्यक्तिको रुपमा खेल्ने भूमिकालाई आफूहरुले अप्ठ्यारो विषय नमानेको जिकिर गरे ।
उनले विचारको सवालमा भण्डारीले गर्नसक्ने योगदानको विषयलाई नकारात्मक रुपमा नठानेको पनि स्पष्ट पारे । सामाजिक सेवाको माध्यमबाट जननेता मदन भण्डारीलाई स्थापित गर्नसक्ने कुरामा विद्या भण्डारीको योगदान हुनसक्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको पनि पोखरेलको भनाई छ ।
उनले विद्या भण्डारीले एमालेको अध्यक्षमा आकांक्षा राख्दैमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएको भनेर बुझ्न नहुने बताए । उनले भने,‘यतिवेला केपी शर्मा ओली एमालेको लागि स्विकार्य नेतामात्रै होईन, सिंगो राष्ट्रको लागि स्विकार्य नेताको रुपमा उहाँको व्यक्तित्वको विकास भैसकेको छ। त्यसअर्थमा राष्ट्रले समेत टक्कर दिन नपर्ने नेतालाई पार्टीभित्र कसैले टक्कर दिन्छ भन्ने त मलाई लाग्दैन । किनकी आज केपी शर्मा ओलीको जुन प्रकारको व्यक्तित्व बनेको छ, राष्ट्रलाई गौरव बनाउने सामथ्र्य बनाउनुभएको छ।’




प्रतिक्रिया