काठमाडौं, २२ भदौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएर भागेको विषयमा अहिले आलोचना भइरहेको छ । हिजो (शनिबार) मन्त्री मगर सवार गाडीले एक बालिकालाई ठक्कर दिएर भागेको थियो । मन्त्री मगरले हरिसिद्धि चिनजान नभएको ठाउँ भएकाले पहिला आफू सुरक्षित भएको बताए । उनले आफूहरुले तत्काल प्रहरीसँग समन्वय गरेर ती बालिकालाई अस्पताल पुर्याउने व्यवस्था मिलाइएको बताए ।
‘अब त्यहाँ चिनजान नभएको ठाउँ, वातावरण कस्तो छ र मानिसहरु अहिले नेगेटिभ बढी छन् । त्यसैले पहिला सुरक्षित हुनु राम्रो भन्ने ठानियो । हामीले तत्काल प्रहरीसँग समन्वय गरेर उहाँहरुको परिवारसँग हाम्रा साथीहरु पठाएर, यहाँको बागमती प्रदेशको मन्त्रीजीलाई पनि पठाएर व्यवस्था मिलायौं,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री मगरले भने, ‘तत्काल नजिकमा प्रहरीहरुको संख्या खासै थिएन । त्यसले गर्दाखेरी अलिकता समस्या पर्न सक्छ, सुरक्षाकै हिसाबले हो हामीले अलिकति अगाडि गएर प्रहरीसँग तत्काल समन्वय गर्यौं ।’
मन्त्री मगरले बालिकालाई गाडीले हानिसकेपछि त्यहाँ बस्नु दुस्साहश हुनसक्छ भनेर आफू अगाडि बढेको बताए । दुर्घटनापश्चात गाडी र मान्छे दुवै असुरक्षित हुने अवस्थालाई मध्यनगर गरेर आफू त्यहाँबाट अगाडि बढेको उनले बताए । ‘कहिलेकाँही दुस्साहस गरेको पनि देखिन्छ । गाडीहरु सुरक्षित नहुने, मान्छे त्यहाँ दुर्घटना गरायो भनेर असुरक्षित हुने । हाम्रोमा अहिले नकरात्मकता बढी भएको हिसाबले पनि तत्काल त्यो किसिमको निर्णय उपयुक्त हुन्छ कि हुँदैन भन्ने ठानिनँ । हाम्रो निर्णयले धेरै गलत भयो भन्ने मलाई लाग्दैन,’– उनले भने ।




प्रतिक्रिया