विशेष अधिवेशनलाई लिएर नेसनल प्याब्सनमा मतभेद, छानबिन गर्न माग


काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मा विशेष अधिवेशनलाई लिएर विवाद चर्किएको छ। अध्यक्ष सुवास न्यौपाने नेतृत्वको केन्द्रीय समितिले आगामी कात्तिक १४ र १५ गतेका लागि आह्वान गरिएको विशेष अधिवेशन अनधिकृत भएको दाबी गर्दै त्यसमा सहभागी नहुन मातहतका समिति र सदस्य विद्यालयलाई आग्रह गरेको छ।

अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाश चन्द्र खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संस्थाको आधिकारिक निर्णय तथा विधानअनुसारको प्रक्रिया पूरा नगरी अधिवेशन बोलाइएको भन्दै आपत्ति जनाइएको छ।

समितिका अनुसार २०८३ असोज २७ गतेको मिति राखेर जारी गरिएको अधिवेशनसम्बन्धी सूचनामा सूचना जारी गर्ने व्यक्तिको आधिकारिक हैसियत स्पष्ट छैन। सूचनामा ‘आज्ञाले, महासचिव’ मात्रै उल्लेख गरिएको भन्दै त्यसलाई केन्द्रीय समितिको आधिकारिक निर्णय मान्न नसकिने विज्ञप्तिमा दाबी गरिएको छ।

विधान र प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी अधिवेशन आह्वान गर्नु संस्थाको हितविपरीत हुने समितिको भनाइ छ। मन्त्रालयको आदेशको हवाला दिँदै पुनरावेदन अदालत, पाटनको आदेशको आशय र मर्मविपरीत अधिवेशन बोलाइएको आरोपसमेत लगाइएको छ।

न्यौपाने नेतृत्वको समितिले २०७८ फागुनमा नेपालगञ्जमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा भएको सहमतिअनुसार आफूहरू नेतृत्वमा आएको दाबी गरेको छ। उक्त सहमतिपछि २०८१ फागुन १६ र १७ गते काठमाडौंमा न्यौपानेको अध्यक्षतामा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको र सोही महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति आधिकारिक रहेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, विशेष अधिवेशनसम्बन्धी सूचना जारी गर्ने व्यक्तिहरूको पहिचान, आधिकारिक हैसियत र कानुनी अख्तियारीबारे छानबिन गर्न समितिले जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयसँग माग गरेको छ। अनधिकृत गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नसमेत आग्रह गरिएको छ।