मलाई जसले जतिसुकै हेपोस् मतलब छैन, तर देशलाई हेपेको सहन सक्दिनँः प्रधानमन्त्री ओली


काठमाडौं, २२ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू राष्ट्रलाई हेपेको सहन तयार नरहेको बताएका छन् । गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दैै उनले अहिले बन्द गरिएका सामाजिक सञ्जालहरुले नेपाललाई हेप्न खोजेको बताएका हुन् । दर्ता भएर राज्यको नियमनमा आउ भन्दाखेरी ती सामाजिक सञ्जालहरु आउन नचाहेको उनको भनाइ छ । आफूलाई जोसुकैले हेपे पनि हेपिन तयार रहेको र राष्ट्रियताको मामलामा हेपेको सहन नसक्ने उनले बताए ।

‘हामी भोकै बसेर पनि स्वाभीमान जोगाएका हौं । भोकै बसेर पनि नाकाबन्दी सहेका हौं । हामी अरु जुनसुकै कुरा सहन तयार छौं, राष्ट्रलाई हेपेको सहन तयार छैनौं । मलाई जसले जतिसुकै हेपोस्, मलाई कुनै मतलब छैन । म हेपिन तयार छु । तर, देशलाई हेपेको सहन सक्दिनँ । त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु– हाम्रो देशलाई हेप्न नखोज । हाम्रो देशलाई होच्याउन नखोज । हाम्रो स्वाभीमानमा ठेस पुर्याउन नखोज,’– उनले भने ।

ृअध्यक्ष ओलीले अन्य राजनीतिक दलका नेताहरुलाई पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेर निरीहता प्रदर्शन नगर्न आग्रह गरे । उनले भने, ‘म नेपालका सबै राजनीतिक दलहरुलाई पनि भन्न चाहन्छु– निरीहता प्रकट नगर्नुस् । क्षणिक स्वार्थमा अन्धो नहुनुस् ।’

साथै, ओलीले आफूहरुले त्यही वाक स्वतन्त्रताको लागि बलिदानी दिएको र संघर्ष गरेर आएको पनि बताए । उनले भने, ‘अहिले सामाजिक सञ्जाल प्यारो लाग्ला । वाक स्वतन्त्रता प्यारो लाग्ला । हामी त्यही वाक स्वतन्त्रताको लागि बलिदान दिएर आएका हौं, संघर्ष गरेर आएको पार्टी हो ।’