क्याविनेट बैठक : सोसल मिडियामाथिको प्रतिबन्ध कायमै, देउवा टिमसहित बालुवाटारमा


काठमाडौं, २३ भदौ । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । जेन-जी पुस्ताको आन्दोलनबाट उत्पन्न परिस्थितिको विषयमा आजको बैठकमा छलफल भएको थियो । सरकारले १९ जना नागरिकको ज्यान गएको आजको घट्नामा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउन नसकिने अडान लिएको एक मन्त्रीले जानकारी दिए । जेन-जी पुस्ताको आन्दोलनमा राजनीतिक घुसपैठ भएको प्रधानमन्त्री ओलीको विश्लेषण रहेको थियो । यो घट्नाको नैतिक जिम्मा लिएर गृहमन्त्री रमेश लेखकले भने आजै राजीनामा दिइसकेका छन् ।

उनले प्रधानमन्त्री ओलीसमक्ष आज साँझ राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् बैठकको बीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले सोसल मिडियामाथि लगाएको प्रतिबन्ध खुलाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमार्फत यस्तो कुनै निर्णय नलिएपछि देउवा आफ्नो टिमसहित बालुवाटार पुगेका थिए ।