योगेश भट्टराईको अपिल : खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ


काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले खरानीबाट उठेर देशको पूननिर्माण गर्नुपर्ने बताएका छन् । उनले अहिले इतिहासकै गम्भीर संकटमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले सही ठाउँमा नपुर्याउने बताएका छन् ।

उनले विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर आफूहरुबाट भएका कमजोरीको समिक्षा गर्न भनेका छन् । उनले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नसमेत प्रस्ताव गरेका छन् ।

प्रिय कमरेडहरू

हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थ:

1. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ ।

2. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।

3. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।

4. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔ ।

5. जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।

6. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔ ।

7. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।

8. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।

9. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।

10. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।

नेपाल बचाऔ

नेपालीत्व जोगाऔ ।