नेपाल बार एशोसिएसनले भन्यो : अहिलेको चूनौतिहरुको समाधान संविधानको पवित्र ढाँचाभित्र रहेर मात्र हुनुपर्छ (विज्ञप्तीसहित)


काठमाडौं, २६ भदौ । नेपाल बार एशोसिएशनले अहिलेको चूनौतिहरुको समाधान नेपालको संविधानको पवित्र ढाँचाभित्र रहेर मात्र हुनुपर्ने दृढ विश्वास राखेको छ । आज बसेको बारको सल्लाहकारसहितको भर्चुअल बैठकपश्चात् जारी अपिलमार्फत यस्तो भनिएको छ । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्र र महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको संयुक्त वक्तव्यमार्फत यस्तो भनिएको छ ।

बारले जटिल परिस्थितिमा संविधानको मर्मभित्र रही तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनुपर्ने आवश्यकत्ता औंल्याएको छ । विज्ञप्तीमा भनिएको छ,‘आज हामी युगकै जटिल परिस्थितिमा उभिएको महसुस गर्दछौं । वर्तमान चुनौतिहरुको समाधान खोज्दै गर्दा, हाम्रो राष्ट्रले सामना गरिरहेको समस्यामा कुनै पनि र सबै समाधानहरु नेपालको संविधानको पवित्र ढाँचाभित्र रहेर मात्र हुनुपर्छ भन्ने दृढ विश्वास नेपाल बार एशोसिएसन राख्दछ । देशको सर्वोच्च कानूनको रुपमा हाम्रो संविधानले लोकतान्त्रिक शासन, अधिकारको संरक्षण र विवादहरुको शान्तिपूर्ण समाधानका लागि वैध मार्गचित्र प्रदार्न गर्दछ । कैयनको वलिदानी र वर्षौंको प्रयासपछि यो संविधान बनेको हो भन्ने तथ्यलाई कदापि विर्सन सकिँदैन्।’