काठमाडौं, २८ भदौ । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले अहिलेको आन्दोलनको कारण नेपालको अर्थतन्त्रमा ठूलो वज्रपात भएको भएपनि आफूहरु नभाँचिएको स्पष्ट पारे । उनले भने,‘हाम्रो मुलुकमा पटक–पटक हरेक १० वर्षमा उथलपुथल भयो । भूकम्प, कोभिडपछि अहिले फेरि ठूलो उथलपुथल भयो। हाम्रो अर्थतन्त्र विस्तारै तँग्रिँदै थियो, फेरि ठूलो वज्रपात भयो । नेपालमा आर्थिक स्थायित्व डगमगायो, हल्लियो । हामी भाँचिएका छैनौं । निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ । निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने वातावरण गर्नुपर्छ ।’
उनले निजी क्षेत्रमा आक्रामण गर्ने काम भएको भन्दै दुःखेसो पोखे । सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतजस्ता भवनको पूर्वाधार पनि नेपाली जनताले थोपा थोपा योगदान गरेर बनाएको उनले स्मरण गराए । उनले भने,‘तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ । जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ, जसले गल्ती गरेको छ उसलाई सजाय हुनुपर्छ ।’
उनले देशमा नेतृत्वमा पुगेकाहरुले मपाईंत्व गरेको र बुढो भएपछि पनि समयमा रिटायरमेन्ट नलिएको भन्दै यसअघिको विकृतिको भण्डाफोर गरे । यसअघिका सरकारले विज्ञहरुको सल्लाह, सुझाव ग्रहण नगरेको भन्दै नयाँ सरकारले सबैको राय, सल्लाह र सुझाव लिनुपर्नेमा उनको भनाई छ ।
नेपालमा भएका आन्दोलनमा आर्थिक क्षेत्र जहिल्यैपनि तहसनहस हुने गरेको मल्लले स्मरण गराए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भयो भने खर्च कम हुने उनको तर्क छ । अब तडकभडकभन्दा चुस्तदुरुस्त सरकार चाहिने उनले बताए । उनले भने,‘यो चुनावी सरकार हो । जेन–जी पुस्तालाई राहत दिनुपर्छ । मृत्युवरण गरेकालाई शहीद घोषणा गर्नुपर्छ ।’
उनले अब देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । विदेशबाट आएको पैसा बैंकमा राख्ने भन्दापनि अब राष्ट्रिय पूर्वाधार निर्माण, जलविद्युत परियोजनामा लगानी गर्न सुझाए । उनले युवा जनशिक्तलाई स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले भने,‘अब सरकार थिंक–ट्यांकअनुसार चल्नुपर्छ । हाम्रो सेवा समयमा होस । मुलुक अगाडि बढ्छ ।’




प्रतिक्रिया